पाल्पाको हेक्लाङस्थित जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा २४ घरगोठ जले

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाल्पाको हेक्लाङस्थित जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा २४ घरगोठ जले

पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ४ र ५ का साथै पूर्वखोला गाउँपालिकाको हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि २४ वटा घरगोठ जलेर लाखौंको धनमान नष्ट भएको छ ।

पूर्वखोलाको हेक्लाङमा १६ र रामपुर नगरपालिकाको ४ र ५ मा ८ आठ घरगोठ जलेर नष्ट भएका प्रहरीले जनाएको छ । जंगलमा लागेको डढेलो हिजो बेलुकीदेखि बस्तीमा फैलिएपछि पाल्पाको पूर्वखोला गाउँपालिका-६, हेक्लाङमा १६ घरगोठ जलेर नष्ट भएका छन् । यहाँका केही बस्ती डढेलोको जोखिममा परेको वडाध्यक्ष धनबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

हिजो दिउँसो जंगलमा सुरु भएको डढेलो आज बिहानसम्म पनि नियन्त्रणमा आएको छैन । जंगलको भीषण डढेलो हावाहुरीले गर्दा बस्तीमा पसेपछि रेदीमा तीन, बाँसडाँडामा ७ र खुमडाँडामा ६ घरगोठ जलेर नष्ट भएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी छ । हेक्लाङका साबिकको ६ वडाका जंगलमा डढेलो फैलिएको छ ।

लाकुरी, रेदी, बाँसडाँडा, खुमडाँडा, पनेर्दी, सालवास, पोखराथोकलगायतका जंगलमा भीषण डढेलो फैलिएको छ । डढेलो चारैतिर फैलिएकाले पनेर्दी, सालवास र पोखराथोक गाउँ जोखिममा रहेको वडाध्यक्ष घर्तीले बताउनुभयो । 

पाल्पाकै रामपुर नगरपालिका-४, को समानसिङ, रेवती पोखरा साथै रामपुर-५, को गैरागाउँ क्षेत्रको जंगलमा लागेको भीषण डढेलो बस्तीमा फैलिएपछि आठ घरगोठ जलेर नष्ट भएको छ । जंगलमा लागेको डढेलो हावा चलेका कारण चारैतिर फैलिएपछि नियन्त्रणमा समस्या भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले बताउनुभयो । 

डढेलो निभाउन नेपाली सेना, प्रहरीका साथै स्थानीय बासिन्दा बस्ती जोगाउन जुटिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.