'भ्रामक सामग्री सम्प्रेषण' विरुद्ध सर्वोच्च प्रशासनद्वारा रिट निवेदन दर्ता

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
'भ्रामक सामग्री सम्प्रेषण' विरुद्ध सर्वोच्च प्रशासनद्वारा रिट निवेदन दर्ता

काठमाडौं । अदालतको अबहेलनाजन्य भ्रामक एवं झुट्टा सामग्री प्रसारण गरिएकोमा कारबाही गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ ।

सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले 'स्टिङ अपरेसन' समेतका शीर्षकमा प्रसारित कपोलकल्पित भ्रामक तथा नियोजित ढंगले प्रसारित सामग्री स्वतन्त्र न्यायपालिकाप्रतिको जनआश्थामा गम्भिर आँच पुर्‍याएकाले अदालतको अबहेलनामा हदैसम्म सजायको माग गर्दै रिट निवेदन दर्ता गर्नुभएको हो । ४ सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टीङ अपरेसन शीर्षक राखी प्रसारण गर्ने अनलाइनका प्रकाशक युवराज कंडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ । निवेदनमा भ्रामक एव‌ं झुठ्ठा सामग्री युट्युब लगायत सामाजिक सञ्जालबाट तत्काल हटाउन र प्रसारण गर्ने व्यक्तिलाई अदालतमा झिकाई बयान गराई आवश्यक कानूनी कारबाहीको माग गरिएको छ । साथै गलत मनसायबाट तयार भएका र प्रसारण गरिएका कार्य फौजदारी कसूरसमेत भएकाले सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारबाही गर्नु गराउनु भनि सम्बन्धित निकायमा नाममा आदेश जारी गरी कारबाहीको नियमित रुपमा लिखित प्रतिवेदन समेत सर्वोच्चमा पेश गर्नु भनि आदेशको माग गरिएको छ । रिटको पेशी भोलिलाई तोकिएको छ ।

यसैगरी न्यायाधीश समाज नेपालले न्यायप्रणाली मै आक्रमण गरेर भ्रामक सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

समाजका महासचिव टेकनारायण कुँवरद्वारा आज जारी विज्ञप्तिमा सिधाकुरा डट कमद्वारा 'भ्रष्टाचारका चारसय मुद्दा हराउने गोप्य डिल' भन्ने शीर्षक दिई २०८१ वैशाख १४ गते प्रसारित र प्रकाशित समाचार भ्रामक भएको र त्यसले न्यायप्रणालीप्रतिकै आक्रमण भएको उल्लेख गरिएको छ । आवश्यक जाँचबुझ गरी सम्बन्धित संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि समाजले माग गरेको छ।

कुनै न्यायाधीश विशेषबाट कुनै काम कारबाही वा फैसला बदनियतपूर्वक वा कानुन विपरीत भएको भन्ने लाग्छ भने सो सम्बन्धमा सम्बन्धित निकायमा कानुन बमोजिम कै प्रक्रिया अबलम्बन गरेर उपचारको खोजी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा समाचारमा आएका विषयहरुबाट भ्रमित नहुन पनि अनुरोध गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.