डढेलो र आगलागी नियन्त्रणमा सक्रिय बन्न सबै प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको निर्देशन

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
डढेलो र आगलागी नियन्त्रणमा सक्रिय बन्न सबै प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वन डढेलो र आगलागी नियन्त्रणका लागि सक्रिय बन्न र सम्भावित बाढीजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको छ । 

मन्त्रालयमा आज ‘वन डढेलो तथा आगलागी : हालको अवस्था, जोखिम र तत्कालका प्राथमिकता’ विषयक छलफलमा गृहमन्त्री लामिछानेले आगलागी नियन्त्रणका लागि राज्यले गर्नुपर्ने काम नागरिकस्तरबाट भइरहेको भन्दै त्यसको प्रशंसा समेत गर्नु भयो ।

गृहमन्त्री लामिछानेले विपद्को सूचना र सम्भावित विपद्को जानकारीका आधारमा के गर्न सक्यौं र के तयारी गरिरहेका छौं भन्ने कुरा महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले गतवर्षको तुलनामा अहिलेको अवस्था केलाएर विगतका कमजोरी सच्याउँदै अघि बढ्न सुझाव दिनु भयो । 

'विपद्पछि उद्दार र राहतमा धेरै अलमल हुनेगरेको छ । अब पनि त्यो दोहोरिनु हुँदैन । सम्भावित विपद्को अनुमान र आवश्यक सामग्रीहरुको चुस्त व्यवस्थापन भइरहनुपर्छ,' गृहमन्त्री लामिछाने मातहतका निकायलाई निर्देशन दिँदै भन्नु भयो,'जिल्लास्थित विपद् व्यवस्थापन कोषमा पर्याप्त रकम छ कि छैन ? छैन भने समयमै गृह मन्त्रालयमा जानकारी गराउनु । आगलागी होस् या अन्य विपद्, प्रभावितहरुलाई राहतको काममा कुनै ढिलाइ हुनु हुँदैन । बेघर भएका नागरिक भोकभोकै हुने अवस्था अनाओस् ।'

उहाँले आगलागी र वन डढेलोका सन्दर्भमा सम्प्रेषण गरेका सचेतना सामग्री प्रभावकारी भएका छन् कि छैनन् भनी मूल्यांकन गर्नुपर्नेमा जोड दिनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.