दाङ । राजपुर गाँउपालिका-७ हाडेवासमा आज दिउँसो भएको आगलागीबाट २५ घरगोठ जलेर नष्ट भएका छन् । राप्ती नदीको बगरमा रहेको खरमा गएरातिदेखि लागेको आगो दिउँसोको हावाहुरीले उडाएर ल्याउँदा हाडेवास गाँउ नै आगलागीको चपेटामा परेको हो ।
राजपुर गाँउपालिकामा दमकल नहुँदा लमही र गढवा गाँउपालिकाबाट दमकल गए पनि बाटो अभावले गाउँसम्म दमकल पुग्न नसकेको वडा सदस्य प्रमोद बस्नेतले बताउनु भयो ।
हावाहुरी बेस्सरी चलेकाले आगो एकैपटक गाउँभरि फैलिँदा घरमा रहेका कुनै पनि लत्ताकपडा र खाद्यान्न निकाल्न नसकेको वडा सदस्य बस्नेतको भनाइ छ । आगो अहिले पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । घटना स्थलमा अहिले प्रहरीको टोली पुगेको र क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।