काठमाडौं । महानगरजस्ता ठुला सहरमा पैदलयात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ ।
पैदल यात्रु हिँड्न प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनै पनि किसिमका अवरोध हुन नहुने यसको महत्त्वपूर्ण विशेषता हो । तर नेपालको राजधानी सहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाडौंका सडकपेटीको अवस्था बेग्लै छ ।
सडकपेटी असाध्यै साँघुरा छन् र कतिपय स्थानमा त सडकपेटीको व्यवस्था नै छैन । भएका सडक पेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् त कतै भत्किएको, बिग्रिएको अवस्था यत्रतत्र छ । यसले सडकपेटीहरु सकिइरहेका छन्, पैदलमार्ग हराइरहेका छन् ।
उपत्यकाभित्रै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन । सडकपेटीहरु निर्माणको पखाइमा छन् । लाग्छ सडकपेटी उद्धारको पर्खाइमा छन् । स-साना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउँछन् । एकातिर सडकपेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौंका सडकपेटीको अवस्था त्यसको ठीकविपरीत पाइन्छ ।
प्रस्तुत छ न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका राजधानीका लथालिंग र भताभुंग सडकपेटीका केही तस्बिर ।