काठमाडौं । इजरायल- हमास युद्धका क्रममा अपहरण परेका विपिन जोशीको परिवारले रिहाइका लागि विश्व समुदाय समक्ष अपिल गरेको छ ।
विपिनका बुबा आनन्द, आमा पद्मा र बहिनी पुष्पा जोशीले आज नेपालका लागि इजरायली राजदूत खनान गोडेरलाई भेटेर सकुशल रिहाइको लागि अपिल गर्नुभएको हो ।
हमासको नियन्त्रणमा रहेको करिब ७ महिनासम्म विपिनको अवस्था थाहा नहुँदा आफूहरू इन्तु न चिन्तु भएको परिवारका सदस्यको गुनासो छ ।
अन्तर्राष्ट्रिय रेडक्रस, इजरायल र अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक पहल गरेर विपिनलाई सुरक्षित घर फर्काइदिन पनि उहाँहरूले आग्रह गर्नुभएको छ । गत असोज २० गते प्यालेष्टिनी लडाकु समूह हमासले इजरायलको अलुममा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो । विपिनलाई भने अपहरण गरेर लगिएको थियो।
नेपालका लागि इजरायली राजदूत खनान गोडेरले विपिनको रिहाइका लागि आफूले हरसम्भव प्रयास गर्ने आश्वासन दिनुभयो । इजरायलमा कृषि प्रविधि सिक्न पुगेका विपिनसहित विभिन्न देशका १३३ जना अहिले पनि हमासको कब्जामा छन् ।