यस वर्ष ‘लू’ बढ्ने पूर्वानुमान, छैन सावधानीको तयारी

वैशाख ३, २०८१ |जितेन्द्र झा
यस वर्ष ‘लू’ बढ्ने पूर्वानुमान, छैन सावधानीको तयारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार गत वर्ष ४० वर्षयताकै धेरै गर्मी भएको थियो । यो वर्ष झन्डै दुई सातासम्म तापक्रम उच्च रहने बताइएको छ । अहिले नै पनि अधिकांश भू-भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि हुने क्रम सुरु भइसकेको छ । गत वर्ष मधेशका अधिकांश जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको थियो ।

गर्मीयाममा तापक्रम अत्यधिक बढ्नाले हावामा समेत तातोपन बढ्छ । लगभग ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम केही दिनसम्म रहिरह्यो भयो त्यो तातो हावा चलेको अवस्थालाई लू चल्नु पनि भनिन्छ । तातो हावाबाट प्रभावित हुनुलाई लू लाग्नु भनिन्छ । अंग्रेजीमा हिटवेभ भनिने यो अवस्था यस वर्ष अझ बढी हुने पूर्वानुमान गरिएको छ । भारतको उत्तर प्रदेश, बिहार लगायत ९ वटा राज्यमा लू चल्ने भविष्यवाणी गरिएको छ । यसले पनि सीमावर्ती जिल्लाहरुमा गर्मी बढ्ने आकलनलाई पुष्टि गरेको छ ।

गर्मी पनि बढ्ने र मनसुन पनि ढिला आउने भएपछि जनजीवन कष्टकर हुने देखिएको छ । तापक्रम वृद्धिको असर शिक्षा, स्वास्थ्य र कृषि जस्ता क्षेत्रमा देखिए पनि लू वा तातो हावाका बेला के कसरी सावधानी अपनाउने भन्ने बारे सरकारले पर्याप्त तयारी गर्न सकेको छैन ।

गत वर्ष जेठ २६ गते नवलपरासी पूर्वको दुम्कौलीमा झन्डै ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । तनहुँ, सुनसरी, सिन्धुपाल्चोक, धनुषा, इलाम, ओखलढुंगा, बारा, सिरहामा जिल्लामा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको विभागले जनाएको छ । जलवायु परिवर्तन, वायु प्रदूषण, वन विनाशलगायत कारणले गर्मी बढेको वरिष्ठ मौसमविद् विभूति पोखरेलको भनाइ छ ।


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement