तरकारी तस्करी : स्थानीयले घेर्ने योजना बनाएपछि मात्र प्रहरीको छापा

चैत्र २६, २०८० |विनय आजाद
तरकारी तस्करी : स्थानीयले घेर्ने योजना बनाएपछि मात्र प्रहरीको छापा

सिरहा । सिरहाको माडरस्थित एक गोदामबाट तस्करीको दुई लाख बराबरको प्याज र आलु बरामद गरिएको छ । सिरहा भन्सार कार्यालय माडर र सशस्त्र प्रहरी बल माडरको छेउमै रहेको गोदामबाट ५३ बोरा प्याज र २४ बोरा आलु बरामद भएको हो ।

यो गोदाम सिरहा भन्सार कार्यालय, माडर र सशस्त्र प्रहरी बल माडरको कार्यालयभन्दा अढाई सय दुरीमा मात्रै पर्छ । गोदाममा तस्करीका सामान रहेको सूचना पटकपटक दिएपनि प्रहरी प्रशासनले तदारुकता नदेखाएपछि केही स्थानीय युवाले गोदाम घेर्ने योजना बनाएका थिए ।

यो योजनाको सुइँको पाएर सोमबार बेलुकी साढे पाँच बजे भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बल्ल गोदाममा छापा हानेको थियो । आफूहरूले गोदाम घेर्ने तयारी भएपछि मिलेमतोको पोल खुल्ने डरले प्रहरीले छापा हानेको स्थानीय बताउँछन् ।

‘हामीले पटकपटक सूचना दिँदा पनि कसैले सुनेनन्, यसले उनीहरूको मिलेमतो छताछुल्ल हुन्छ,’ एक स्थानीय युवाले भने, ‘हामीले घेर्ने भएपछि पोल खुल्ने डरले मात्रै छापा हाने, यहाँ थुप्रै यस्ता गोदाम मिलेमतोमै चलेका छन् ।’ तर सिरहा भन्सार कार्यालय, माडरका प्रमुख विमलकुमार श्रेष्ठले भने यो कुरा अस्वीकार गरे । उनले भने, ‘मिलेमतो छैन, हामीले आफ्नो काम गरेका छौँ ।’ सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्य भने फोनै उठाएनन् ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।