प्रहरीकै मिलेमतोमा मदिरा तस्करी

अन्तशुल्कको एउटै स्टिकर च्यातेर दुईवटा बोतलमा
राजस्व छलीमा सिरहा प्रशासनकै संलग्नता, अनुसन्धान र कारबाही नाममात्रको
चैत्र ५, २०८० |विनय आजाद
प्रहरीकै मिलेमतोमा मदिरा तस्करी

सिरहा । सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको पाइएको छ । सिरहाको गोलबजारस्थित मदिरा उत्पादक कम्पनी शारडा डिस्टिलरीले एउटै स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरिरहेको भेटिएको हो । यस्तो अवैध मदिरा सीमावर्ती क्षेत्रमा भण्डारण गर्ने र त्यसपछि भारत तस्करी गर्ने गरिएको छ ।

यो हो सिरहाको गोलबजार नगरपालिका ९ मा अवस्थित मदिरा उत्पादक कम्पनी शारडा डिस्टिलरी उद्योग । अवैध मदिरा भएकाले रातिको समयमा मात्रै उद्योगबाट मदिराको ट्रक निस्कने गरेको सुइँको पाएर हामी बिहान ४ बजे नै उद्योगनजिक पुग्यौं ।

हामी पुग्दा अबेर भइसकेको रहेछ । थुप्रै गाडी गइसकेका रहेछन् । तर, दुईवटा ट्रक बाँकी थिए । त्यसमध्ये साढे ५ बजे बिहान एउटा गाडी धनुषातिर र साढे ६ बजे सिरहातिर लाग्यो । हामीले सिरहा हिँडेको ट्रकलाई पछ्यायौं । पछ्याउँदै जाँदा चालकलाई शंका लागेर होला, पानवारी चोक र बलुवा चोकको बीचमा गाडी रोकियो ।

चालकलाई थप शंका नहोस् भनेर हामी अगाडि बढ्यौं । ट्रक पनि त्यसपछि सिराहातिर आउन थाल्यो । विष्णुपुर आइसकेपछि हामीले प्रहरीलाई गाडी रोकेर चेकजााच गर्न भन्यौं । प्रहरीले गाडी त रोक्यो । गाडी रोकिएपछि प्रहरीलाई एउटा फोन आयो । आधा स्टिकर नै लागेको मदिराको बोतल गाडीमा भेटिए पनि प्रहरीले गाडी छाडिदियो । यसमा प्रहरीको मिलेमतो छ भन्ने कुरामा हामी स्पष्ट भयौं ।

हामी फेरि गाडीसँगै लाग्यौं । सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्य बस्ने सिरहास्थित रहेको क्वाटरअगाडि हुँदै गाडी निर्वाध गएपछि प्रहरीको संलग्नता थप पुष्टि गर्‍यो । संयोग कस्तो भने जब ट्रक एसपीको क्वाटर हुँदै गुज्रियो, त्यतिबेलै एक भारतीय नम्बर प्लेटको स्कार्पियो एसपीको क्वाटरअगाडि रोकियो । स्कार्पियोबाट हतारहतार दुईजना ओर्लेर क्वाटरभित्र पस्न खोजे । तर, हामीले रेकर्ड गरिरहेको देखेपछि उनीहरू दुवै दुईतिर लागे । हामी फेरि ट्रकलाई पछ्याउँदै गयौं । ट्रक सीमावर्ती बजार सिरहा नगरपालिका १५, माडरस्थित आशिष जनरल स्टोरमा साढे ८ बजे रोकियो । र, त्यस गोदाममा हतारहतार मदिरा झार्न थालियो । सिरहाका प्रमुख जिल्ला अधिकारी र आन्तरिक राजस्व कार्यालयका प्रमुखलाई हामीले आउन भन्यौं । हामी दुई घण्टा कुर्‍यौं । तर, आउनु त परको कुरा, विभिन्न बहानामा पन्छिरहे ।

ट्रक केही मदिरा हतारहतार झारेर र केही मदिरा गाडीमै राखेर ११ बजेतिर हिँडिसकेपछि बल्ल राजस्वका प्रमुख पुण्य रिजालले हामीलाई फोन गरेर आफूहरू अब निस्किन लागेको जानकारी गराए । हामीले गाडी हिँडिसकेको भनेपछि प्रहरीलाई भन्नुको साटो हामीलाई गाडी रोक्न उनले अर्हाए ।

हामी कुर्यौं । दिउँसो १२ बजे राजस्वको टोली बल्लतल्ल आइपुग्यो । उनीहरू सुरुमा त हामीलाई नपत्याएको जस्तो गरे । तर, जब गोदाममा पुगे, तब कार्टुनैपिच्छे राजस्वको एउटै स्टिकरलाई दुई टुक्रा पारी टाँसिएको मदिराका बोतल भेटिन थाले ।

राजस्वको टोलीले त्यसपछि मदिरा भण्डारण गरिएको गोदाम सिल गरेको छ । गोदाम रहेको घरको आँगनमा रहेका ३१५ कार्टुन र कोठाभित्र रहेको अनुमानित २५ सय कार्टुनजति मदिरा सिल गरिएको हो । यो भनेको झन्डै ३० लाख रुपैयाँबराबरको हो । यसमा अधिकांश टुक्रा पारेर राजस्वको स्टिकर टाँस गरिएको बोतल छ । अवैध मदिरा भेटिएपछि सिल गरिएको र अनुसन्धानपछि मात्रै यस विषयमा केही बोल्ने प्रतिक्रिया राजस्वका प्रमुख पुण्य रिजालले दिए ।

यो घटनाले यहाँका सरकारी संयन्त्रकै मिलेमतोमा उद्योगले दैनिक लाखौं राजस्व छली र मदिरा भारत तस्करी गरिरहेको छ भन्ने कुरा छताछुल्ल हुन्छ । प्रहरी, प्रशासनको मिलेमतोमै यो धन्दा भइरहेको स्थानीय बासिन्दा देवकुमार यादव पनि बताउँछन् ।

उद्योगले आन्तरिक राजस्व विभागको एउटा स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गर्दै आएको छ नै, माडरस्थित यो गोदाममा मदिरा भण्डारण गरेर भारत तस्करीसमेत गर्दै आएको छ । यसले सरकारी संयन्त्रको भ्रष्ट चरित्रलाई उदांगो पारिदिएको छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।