काठमाडौं । रुसले युक्रेनमा नेटो सेना पठाउनु सम्भावित रूपमा अत्यन्तै खतरनाक हुने भन्दै चेतावनी दिएको छ । रुसले युक्रेनमा नेटो सेना पठाउने युक्रेनी निवेदनलाई नजिकबाट हेरिरहेको र यसको परिणाम अतयन्तै खतरनाक हुने भन्दै प्रस्ट पारेको छ ।
युक्रेनी राष्ट्रपतिको वेबसाइटमा पोष्ट गरिएको निवेदनमा युक्रेनले अमेरिका, बेलायत र अन्य देशहरूलाई रुसको आक्रमणलाई पन्छाउन मद्दत गर्न सेना पठाउन आग्रह गरेपछि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले हिजो नियमित प्रेस ब्रिफिङमा यस्तो चेतावनी दिएका हुन् ।
नेटोले युक्रेनलाई ट्यांक र लामो दूरीका क्षेप्यास्त्रसहित बढ्दो शक्तिशाली हतियारहरू उपलब्ध गराएर युद्धमा समर्थन गरिरहेको छ । तर, नेटा सेनाले भने प्रत्यक्ष रूपमा अहिलसम्म हस्तक्षेप गरेको छैन । यदि नेटोले रुस-युक्रेन युद्धमा प्रत्यक्ष हस्तक्षेप गरे यसले तेस्रो विश्व युद्ध निम्तिन सक्ने भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिइसकेका छन् ।
त्यस्तै, रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पश्चिमाले युक्रेनलाई सहयोग र हतियार पठाउन बन्द गरे रुस-युक्रेन युद्ध दुई सातामै समाप्त हुने बताएकी छन् । रुसी सीमा नजिक नेटोको अभ्यासबारे प्रकाश पार्दै प्रवक्ता जाखारोभले यस्तो नगर्न चेतावनी नै दिएकी हुन् ।