काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले इजरायललाई करिब २६ करोड डलर बराबरको हातहतियार बिक्रीमा तत्कालका लागि रोक लगाएको छ । गाजा–इजरायल युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले यस्तो कदम चालेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
पश्चिमा दबाबकाबीच पनि इजरायलले गाजाको रफाहमा सैन्य आक्रमण जारी राखेको र गाजा संघर्ष विरामलाई लिएर थुप्रै अमेरिकी विश्वविद्यालयमा प्रदर्शन भइरहेको अवस्थालाई मध्यनजर गरी बाइडेन प्रशासनले उक्त निर्णय गरेको बताइएको छ ।
इजरायललाई हतियार बिक्री गर्ने विषयमा अमेरिकाको मथिल्लो सदनलाई जानकारी गराइएको थियो । तर, बाइडन प्रशासनले भने दंगा भड्किने भन्दै तत्कालका लागि कुनै निर्णय गरेको छैन । रोक लगाउनुको मुख्य कारण आगामी नोभेम्बरमा हुन लागेको निर्वाचन पनि रहेको बताइएको छ ।
ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकी एयर फोर्सलाई रोक लगाउन निर्देशन दिएको थियो । इजरायलले गाजामा जारी राखेको आक्रमणकाबीच अमेरिकाले हतियार सहयोग गरिरहेकोप्रति अमेरिकाको आलोचना हुँदै आएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले भने हातहतियारको आपूर्तिलाई रोक लगाएको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।