यूएईको मुसलधारे वर्षा : कृत्रिम कि प्राकृतिक ?

यूएईमा चार दिनअघि भएको मुसलधारे वर्षाको कारणबारे चासो
वर्षा प्राकृतिक नै भएको स्थानीय मौसमविद्को दाबी
कृत्रिम वर्षाले विपत्ति निम्त्याएको आशंका
मुसलधारे वर्षाका कारण यूएई र ओमानमा २१ जनाको मृत्यु
वैशाख ८, २०८१ |प्रभात सिंह
यूएईको मुसलधारे वर्षा : कृत्रिम कि प्राकृतिक ?

काठमाडौं । खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) सुक्खा र तातो हावापानी भएको मुलुकमा पर्छ । तर, वैशाख ३ गते अचम्मै भयो । डेढ वर्षमा पर्ने जति पानी उक्त दिन चौबीस घण्टाकै अवधिमा पर्‍यो । पानीले सहर डुबानमा पर्‍यो । ओमानमा समेत परेको मुसलधारे वर्षाका कारण दुवै देशमा गरी २१ जनाको मृत्यु भयो ।

हावाहुरीसहित आएको वर्षा यति ठूलो थियो कि, मानिसहरुले आफ्नो जीवनकालमै देखेका थिएनन् । के त्यो वर्षा प्राकृतिक थियो ? या मानिसकै कारण यस्तो भएको हो ? अहिले विश्वभर खुलदुलीको विषय बनिरहेको छ ।

यूएई समुद्री तटमा अवस्थित भए पनि त्यहाँ प्रायः एकदम सुक्खा हुने गर्दछ । वार्षिक औसत एक सय मिलिमिटर अर्थात् ३.९ इन्चभन्दा कम वर्षा हुने गर्छ । तर, वैशाख ३ मा आँधीसहितको मुसलधारले वर्षा भयो, जुन करिब १४२ मिलिमिटर अर्थात् ५.५९ इन्च मापन गरिएको थियो । वर्षाले पूरै सहर डुबानमा पर्‍यो । विश्वकै अतिव्यस्तमध्यको दुबई विमानस्थल बन्द गरियो । स्थिति यसरी बिग्रियो कि, जनजीवन अझै सामान्य हुनसकेको छैन ।

तर यो अस्वाभाविक वर्षालाई विश्वले भने शंकाको नजरले हेर्‍यो । विगतमा यूएईले कृत्रिम तरिकाले क्लाउड सिडिङका माध्यममार्फत वर्षा गराउँदै आएको थियो । मुसलधारे वर्षाअघिका दुई दिन पनि क्लाउड सिडिङका लागि वर्षा गराइएको थियो । सोहीकारण यस्तो विपत्ति निम्तिएको अनुमान गरियो । यूएईमा पानी पर्नुभन्दा अघि ओमानमा पनि यस्तै खालको आँधी आएको थियो ।

तर, मौसमविद्ले भने यो वर्षा प्राकृतिक नै भएको दाबी गरिरहेका छन् । क्लाउड सिडिङमार्फत वर्षा गराउनुअघि विगतमा राष्ट्रिय मौसम विज्ञान केन्द्रद्वारा सार्वजनिक रुपमा जानकारी गराइन्थ्यो । तर, यसपटक त्यसो नभएको केन्द्रका उपमहानिर्देशक उमर अल यजिदीले बताएका छन् । विज्ञहरुका अनुसार, क्लाउड सिडिङबाट वर्षा गराइँदा निरन्तर पानी पर्छ र हावाहुरी चल्दैन ।

यस्तो घटना जलवायु परिवर्तनका कारण भएको विज्ञको दाबी छ । जलवायु परिवर्तनका कारण बढ्दो विश्वव्यापी तापक्रमले तीव्र वर्षासहित विश्वभरि नै चरम मौसमी घटना निम्त्याइरहेको जलवायु वैज्ञानिकहरूले बताएको अल-जजिराले उल्लेख गरेको छ ।

के हो त क्लाउड सिडिङ ?

प्राकृतिक रुपमा वर्षा नभएपछि बादललाई कृत्रिम तरिकाले वर्षा गराउने बादलका रुपमा परिणत गरिनु नै क्लाउड सिडिङ हो । पोटासियम आयोडाइड, सिल्भर आयोडाइड, ड्राइ आइस अर्थात् सलिड कार्बनडाइअक्साइड, लिक्विड प्रोफेनजस्ता रासायनिक पदार्थ विमानमार्फत् बादलमा छर्ने गरिन्छ । यो तरिकाबाट बादललाई वर्षामा परिणत हुन कम्तिमा आधा घण्टा लाग्छ, जसले वर्षाका साथै हिउँ पनि पार्छ ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement