मुसलधारे वर्षाका कारण संयुक्त अरब इमिरेट्स र ओमानमा गरी २० जनाको मृत्यु

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त, अहिलेसम्मकै भारी वर्षा
वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
मुसलधारे वर्षाका कारण संयुक्त अरब इमिरेट्स र ओमानमा गरी २० जनाको मृत्यु

काठमाडौं । संयुक्त अरब इमिरेट्स-युएई र ओमानमा भएको मुसलधारे वर्षाका कारण २० जनाको मृत्यु भएको छ ।

ओमानमा लगातार तीन दिनसम्म परेको पानीका कारण स्कुले विद्यार्थीसहित १९ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । त्यहाँ १४ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने विद्यालय र सरकारी कार्यालय बन्द गरिएका छन् ।

यस्तै युएईमा एक जनाको मृत्यु भएको छ । राष्ट्रिय मौसम केन्द्रका अनुसार यएईको अल-इन शहरमा मंगलवार झण्डै २४ घण्टाको अवधिमा २ सय ५४ मिलिमिटर वर्षा भएको छ । वर्षभरि पर्ने पानी एकै दिन परेको बताइएको छ । मरुभूमि मुलुक युएईको मौसम प्रायः तातो र सुख्खा हुने गर्दछ भने निकै कम पानी पर्ने गर्दछ । यो वर्षा अहिलेसम्मकै रेकर्ड भएको जनाइएको छ ।

मंगलवार अबेरदेखि नै पानी पर्न कम भए पनि बुधवारसम्मै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित बनेका छन् । ५ सयभन्दा बढी उडान रद्द गरिएका छन् भने समय पछि सारिएका छन् । इमिरेट्स एयरलाइन्सले टिकट बुकिङ गरेका यात्रुलाई विमानस्थल नआउन सूचना जारी गरेको छ । वर्षाका कारण दुबईका विमानस्थलदेखि सडक, घर र मल जताततै पानी भरिएका छन् ।

जलवायू विज्ञ फ्रेडरिक ओटोले मानवसिर्जित जलवायू परिवर्तनका कारण यति खराब वर्षा भएको बताएका छन् । मौसम विज्ञहरुले गल्फ अफ ओमान र अरेबियन प्रायद्विप हुँदै अघि बढिरहेको एउटा ठूलो आँधीय पद्धतिका कारण यति धेरै वर्षा भएको हुनसक्ने अनुमान गरेका छन् । तर केही विज्ञले भने क्लाउड सिडिङ्ग अर्थात् कृत्रिम वर्षा प्रयासमा भएको गडबडीका कारण दुबईमा यति धेरै पानी परेको हुन सक्ने बताएका छन् ।

दुबई प्रशासनले सोमवार र मंगलवार क्लाउड सिडिङ्गका लागि विमान उडाएको स्थानीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement