सल्यानमा धमाधम बन्दैछन् पक्की सिँचाइ कुलोहरू

वैशाख २६, २०८१ |सरिता चलाउने
सल्यानमा धमाधम बन्दैछन् पक्की सिँचाइ कुलोहरू

सल्यान । सिँचाइको अभावले उत्पादन घट्ने र कृषि पेसा नै छोड्ने अवस्था आएपछि अहिले सल्यानमा पक्की सिँचाइ कुलोहरू बनाउन थालिएको छ ।

प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न साझेदार सहयोगी सस्थाहरूबाट जिल्लामा पक्की सिँचाइ कुलोहरू निर्माण भइरहेका छन् । यसले सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यता घट्दै गएको छ तर, अझै पनि सल्यानमा ७५ प्रतिशत जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउन बाँकी छ ।

यस वर्षमात्र सिँचाइका लागि कृषि विकास कार्यलयबाट साना-ठूला गरी ८९ वटा कुलो र पोखरी निर्माण भएका छन् ।

बागचौर नगरपालिका-८ का लालबहादुर डाँगीलाई विगतदेखि कच्ची कुलोबाट खेतसम्म पानी पुर्‍याउन निकै मुस्किल हुन्थ्यो । अप्ठेरो ठाउँ पटक-पटक कुलो सफा गर्न जानु पर्ने, त्यो पनि खेतसम्म पानी नपुग्दा हैरान खेप्नु पर्थ्यो तर यस वर्ष पक्की सिँचाइ कुलो बनेपछि सहज रुपमा सिँचाइ सुविधा पाउने आशामा छन् ।

सल्यानको दार्मा गाउँपालिका ६ की अन्जना ओलीको समस्या पनि उस्तै थियो तर अहिले आधुनिक पक्की सिँचाइ कुलो बनेपनि उहाँको अनुहारमा खुसी देखिन थालेको छ ।

चालु आर्थिक वर्षमा कृषि विकास कार्यालय सल्यानबाट ७ करोड २४ लाख रुपैयाँको लागतमा ८९ वटा कुलो र सिँचाइ पोखरी निर्माण भएका छन् । यी कुलो र पोखरीबाट १ सय १६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । अहिले निमार्ण भएका पक्की कुलोले २५ प्रतिशत जमिनमा मात्र बाह्रैमास सिँचाइ सुविधा पुग्ने छ ।

जिल्लाको खेतियोग्य जमिन मध्ये ७५ प्रतिशत जमिन अझैपनि सिँचाइ सुविधाको पहुच बाहिर नै छ । जुन २३ हजार २ सय २६ हेक्टर क्षेत्रफल हो । पछिल्लो समय धमाधम बनिरहेका पक्की कुलोले सिँचाइको अभावमा भोगिरहेका किसानलाई राहात महसुस भएको छ । सिँचाइको प्रबन्ध भएसँगै जिल्लामा कृषिको उत्पादकत्व बढ्ने किसानको आाशा छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।