काठमाडौं-तराई/मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण सकियो

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं-तराई/मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण सकियो

काठमाडौं । तराई/मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा मंगलबार उपस्थित हुँदै नेपाली सेनाले काठमाडौं-तराई/मधेस द्रुतमार्गको प्रगति विवरण सार्वजनिक गरेको हो ।

कार्यप्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्रमुख विकास पोखरेलले हालसम्मको समष्टिगत भौतिक प्रगति ३३.२० प्रतिशत रहेको र समष्टिगत वित्तीय प्रगति ३३.७१ प्रतिशत रहेको जानकारी दिनुभएको छ । उहाँले आयोजनाको चालु आर्थिक वर्ष ०८०/८१ को वार्षिक लक्ष्यको तुलनामा हालसम्मको भौतिक प्रगति ८२.७७ प्रतिशत र वित्तीय प्रगति ६९.४१ प्रतिशत रहेको पनि जानकारी दिनुभयो ।

कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको यस द्रुत मार्गमा जम्मा लम्बाइ १०.०५५ किलोमिटर हुने गरी ६ स्थानमा सुरुङ निर्माण हुने जनाइएको छ । त्यस्तै १२.८८५ किमि लम्बाइ हुनेगरी ८९ स्थानमा पुल निर्माण हुनेछ ।

६ वटामध्ये तीनवटा सुरुङ निर्माणको क्रममा रहेको र तीन वटामा खरिद सम्झौता भएर प्रक्रिया अगाडि बढेको आयोजना प्रमुख पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ८९ पुलमध्ये ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका र चारवटा जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको खोकना क्षेत्रमा परेको छ । कुल दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको सो द्रुत मार्ग २०८३ चैत मसान्तमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.