आर्थिक वृद्धिदर सरकारको लक्ष्यभन्दा झन्डै आधाले कम हुने

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
आर्थिक वृद्धिदर सरकारको लक्ष्यभन्दा झन्डै आधाले कम हुने

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलब ८–७ प्रतिशत रहने भएको छ ।

राष्ट्रिय तथ्याङक कार्यालयले ९ महिनासम्मको आँकडाका आधारमा आर्थिक वृद्धिदरको अनुमान गरेको हो । गत वर्ष १ दशमलब ९ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो । सरकारले भने चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने लक्ष्य लिएको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण अपेक्षा अनुसारको लक्ष्य हासिल हुन नसकेको कार्यालयले बताएको छ । 

कृषि, वन तथा मत्स्य, खानी तथा उत्खनन क्षेत्रको योगदान गत वर्षको भन्दा केही बढेका कारण यो आर्थिक वृद्धि हासिल हुन सकेको हो । कृषि क्षेत्रको ३ दशमलब ०-५ र गैरकृषि क्षेत्रको ३ दशमलब ७-५ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको छ । 

गत आर्थिक वर्षमा ५३ खर्ब ४८ अर्ब रहेको अर्थतन्त्रको आकार बढेर ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान गरिएको छ । खानी तथा उत्खनन क्षेत्रको योगदान २ दशमलब ३-१ प्रतिशत हुने अनुमान गरिएको छ । उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक हुने देखिएको छ । वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले उद्योग क्षेत्र ऋणात्मक हुने देखिएको हो ।

निर्माण क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर पनि ऋणात्मक हुने भएको छ । निर्माण सामग्रीको आयातमा आएको कमी, निर्माण सामग्रीको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले संकुचित हुने भएको हो ।

यातायात तथा भण्डारण क्षेत्रको योगदान करिब १२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा सवारी साधनको आयात तथा पर्यटकको आवागमनमा भएको वृद्धिका कारण यस क्षेत्रमा सुधार हुने भएको हो । त्यस्तै, घरजग्गाको योगदान करिब ३ प्रतिशत रहने अनुमान गरिएको छ । निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा  अघिल्लो वर्षको तुलनामा सुधार भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.