काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । ललितपुरमा शुक्रवार महिला उद्यमी महासंघले आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्न । त्यसैले महिला सशक्तीकरण का लागि सबैको हातेमालो आवश्यक छ । आजको संसारमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ ।’
सशक्तीकरणको सवाल आजको संसारमा शक्तिसँग जोडिएको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘सशक्तीकरण आजको दुनियामा शक्तिसँग जोडिएको छ,’ उनले भने, ‘शक्ति अर्थसँग जोडिएको छ । आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तिकरण हुन सक्दैन । यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।’
कार्यक्रममा प्रधानमन्त्री दाहालले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछुट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लगिने समेत बताए ।
‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रबद्र्धन गर्न कर छुटदेखि अन्य सहुलियतपूर्ण प्रबन्धहरू गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ ।’