बजेट निकासा नहुँदा तमोर करिडोर सडक आयोजनाको काम रोकियो

धनकुटाको मूलघाटदेखि पाँचथरको सुभाङखोलासम्मको ११२ किलोमिटर सडक कालोपत्रे गर्न बजेट अभाव
फाल्गुन १९, २०८० |विनोद घिमिरे
बजेट निकासा नहुँदा तमोर करिडोर सडक आयोजनाको काम रोकियो

धनकुटा । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक बजेट उपलब्ध नगराउँदा राष्ट्रिय गौरवको तमोर करिडोर सडक आयोजनाको काम रोकिएको छ । धनकुटा मूलघाटदेखि पाँचथर सुभाङखोलासम्मको ११२ किलोमिटर सडक कालोपत्र गर्न बजेट अभाव भएको हो ।

पूर्वी पहाडी जिल्लालाई छोटो दूरीमा तराईसँग जोड्ने यो द्रुतमार्गका लागि संघीय सरकारले काम अनुसारको भक्तानी गर्न सकेको छैन ।

सुनसरीको चतराबाट धनकुटाको मूलघाट हुँदै पाँचथर जोड्ने तमोर करिडोर सडक आयोजनाको लम्बाई १५५ किलोमिटर हो । यसमध्ये धनकुटा मूलघाटदेखि पाँचथर सुभाङखोलासम्मको ११२ किलोमिटरमा कालोपत्रे गर्न पहिलो खण्ड २०७८ मंसिर र दोस्रो खण्डको २०७९ कात्तिकमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।

२०८२ कात्तिक सम्ममा कालोपत्रे गरिसक्नुपर्ने सडक आयोजनाको पहिलोमा ३३ र दोस्रो खण्डको ३० प्रतिशत भौतिक प्रगति छ । दुवै खण्डको निर्माण लागत चार अर्ब १६ करोड २६ लाख हो । आयोजनाका लागि यो वर्ष दुई अर्ब रुपैयाँ आवश्यक छ । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ५८ करोड ५९ लाख रुपैयाँमात्रै विनियोजन गरेको तमोर करिडोर सडक योजना सुनसरीका इन्जिनियर लालबहादुर विश्वकर्माले जनाए ।

दुवै खण्डमा ठेक्का लागेर कालोपत्रेका लागि बेसलाइनको काम भइरहेको छ । तर सरकारले सडकको भौतिक प्रगतिअनुसार निर्माण कम्पनीलाई बजेट निकासा गर्न सकेको छैन । गरेको कामको पनि पैसा नपाएपछि निर्माण कम्पनीले निर्माणस्थलबाट कामदार र मेसिन उपकरण झिकेर अन्तै पठाउन थालेको पाँचथरका राजेन्द्र अधिकारीले दाबी गरे ।

पूर्वी पहाड र तराईसँगको दूरी छोट्याउने तमोर करिडोर सडक आयोजनाले धनकुटा, पाँचथर र ताप्लेजुङ हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसमेत जोड्ने भएकाले यसको महत्त्व बहुआयामिक छ । रुख कटानको झमेला र जग्गा विवादको कुनै उल्झन नभएको यो आयोजना बजेट अभावले प्रभावित भएको हो ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।