धनकुटामा लघु उद्योग दर्ता बढे पनि उत्पादन बढ्न सकेन

उद्यमशीलताको विकासमा ध्यानै पुगेन
माघ ९, २०८० |विनोद घिमिरे
धनकुटामा लघु उद्योग दर्ता बढे पनि उत्पादन बढ्न सकेन

धनकुटा । गाउँघरमा खुलेका लघु, घरेलु र साना उद्योग स्थानीय अर्थतन्त्रका मेरुदण्ड मानिन्छन् । यस्ता उद्योगको विकास, विस्तार र प्रवर्द्धनका लागि घरेलु कार्यालय धनकुटाले हरेक वर्ष विभिन्न तालिम र उपयुक्त प्रविधि प्रदान गर्दै आएको छ । तालिम र उद्योगको सङ्ख्या बढे पनि अपेक्षा गरिएअनुसार उत्पादनमा वृद्धि र उद्यमशीलताको विकास भने हुन सकेको छैन ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले गत आर्थिक वर्ष २०७९/०८० मा बाँस हस्तकला, ढाका बुनाई, मौरीघार निर्माण, आधुनिक तथा अर्ग्यानिक तरकारी खेती, होमस्टे सञ्चालन व्यवस्थापनदेखि पत्रकारलाई फोटो खिच्न सिकाउनेसम्मका १९ वटा तालिम सञ्चालन गर्‍यो । तीन दिनभन्दा बढीका यस्ता सीप विकास तालिममा झन्डै आठ सय जना सहभागी भए । विगतमा पनि तालिम लिनेको सङ्ख्या गत वर्षकै हाराहारीमा छ । धनकुटामा वार्षिक रूपमा करिब ४ सय ५० नयाँ लघु, घरेलु र साना उद्योग थपिने गरेका छन् ।

बर्सेनि यो कार्यालयबाट करिब एक सय जनाले उपयुक्त प्रविधि र मेसिन उपकरण अनुदानमा पाउने गरेका छन् । हरेक वर्ष थपिने पाँच सय सङ्ख्यामा नयाँ उद्योग र नयाँ उद्यमी थपिने गरेका छन् । संघ, प्रदेश र स्थानीय तह बेला बेला सञ्चालन हुने तालिमको लेखाजोखा छैन । कागजमा तालिम लिने व्यक्ति र नयाँ उद्योगको सङ्ख्या थपिए पनि औद्योगिक उत्पादन बढेको देखिँदैन ।

दर्ता भएका कतिपय उद्योग सञ्चालन मै नआई हराउने गरेका छन्। जेनतेन सञ्चालन भइरहेका उद्योगले पनि लगानी, उत्पादन र निर्यातमा समस्या भोगिरहेका छन् ।

स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु र साना उद्योगको विकास तथा प्रवर्द्धन गर्ने विषय केन्द्रदेखि स्थानीय तहसम्मको नीतिगत प्राथमिकतामा छन्। तर, गाउँघरमै उद्योग सञ्चालन गरी रोजगारी सिर्जना र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने काममा भने तीनै तहका सरकार संवेदनशील नदेखिएको उद्यमीहरूको गुनासो छ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।