जुनारको जात सूचीकृत नहुँदा किसान अनुदानबाटै बञ्चित

जुनार खेतीको व्यावसायिक प्रवर्द्धनमा सरकारको ध्यान पुगेन
पुस २९, २०८० |विनोद घिमिरे|राजकुमार कार्की
जुनारको जात सूचीकृत नहुँदा किसान अनुदानबाटै बञ्चित

धनकुटा । नेपालमा जुनार खेतीको इतिहास झण्डै दुई सय ५० वर्ष पुरानो छ । जुनार खेतीको व्यावसायिकता प्रवर्द्धनका लागि सिन्धुली र रामेछापमा जुनार विकास कार्यक्रम संचालन भएको झण्डै एक सय वर्ष पुगिसक्यो । तर बिडम्वना त के छ भने, हालसम्म नेपालमा खेतीका लागि जुनारको कुनै पनि जात सिफारिस भएको छैन । जात सूचीकृत नहुँदा जुनार खेती गरिरहेका र गर्न चाहने किसान बैंकिङ कर्जा सुविधा, बिमा र अनुदानका कार्यक्रमबाट बञ्चित छन् ।

सिन्धुलीकी लक्ष्मी राईको जिविकोपार्जनको मुख्य माध्यम जुनार खेति हो । उनले बर्षेनी भण्डै १० लाख रुपैयाँ बराबरको जुनार बिक्री गर्दै आएकी छन् । जुनार उत्पादनका लागि कहलिएको सिन्धुलीका तीन हजार पााचसय किसान जुनार खेतिमा संलग्न छन् ।

सिन्धुलीकी किसान लक्ष्मी राई भन्छिन्, ‘जुनारबाट फाइदै भएको छ । यसो बाहिरतिर बस्नलाई, छोरा नाती पढाउनलाई, आफूलाई खानलाई, घर खर्च राम्रै चलेको छ।’

गुलियो, गुणकारी जुनारको जात दर्ता र नामाकरणको पाटो भने अहिलेसम्म ओझेल परेको छ । जात दर्ता नहुँदा यहाँका किसान जुनार खेतीका लागि बैंकबाट कर्जा, बाली बिमा र अनुदान जस्ता सुविधाबाट बञ्चित छन् । सिन्धुलीका अर्का किसान विष्णुकुमार श्रेष्ठ भन्छन्, ‘सरकारले यो बीमा गरिदिने हो भने अति राम्रो हुन्थ्यो । यदि त्यसो भएन भने बिस्तारै किसानहरुले जुनार लगाउन छोड्छन् ।’

नेपालमा जात दर्ता र सूचीकृत नभएको बिउ प्रसार र प्रवर्द्धन गर्न पाइँदैन । ज्ञान केन्द्र र स्थानीयतहमा रहेका कृषि प्रसारका निकायले यसको प्रवर्द्धन र प्रोत्साहन गर्न पाउँदैनन् ।

अनुसन्धान र प्रविधि विकास गर्ने संस्थाको लामो खोज, अध्ययन र अनुसन्धान पछि राष्ट्रिय बिउ बिजन समितिले जात प्रमाणिकरण र खेतिका लागि सिफारिसको प्रकृयामा लैजान्छ । यसका लागि धनकुटाको पारिपात्लेमा रहेको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमले फ्रान्स, अस्ट्रेलिया, भारत, पाकिस्तान लगायत देशबाट संकलित जुनारका विभिन्न २३ प्रजाती माथि २०६१ सालदेखि जातिय छनौट परिक्षण गरिरहेको छ । जुनारको जात सिफारिस नहुादा किसानलाई परेको अप्ठेरो सुल्झाउान अनुसन्धान र प्रविधि विकासका निकायले कसरी काम गरिहेका छन् त ?

राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाका प्रमुख वसन्त चालिसेले भने, ‘किसानहरूको बगैँचामै गएर अवलोकन गर्ने, ती बोटहरूको नापजाँच गर्ने र उत्पादनको रेकर्डहरु लिएर साथै फलको गुणस्तरको पनि रेकर्डहरु लिएर त्यसपछि त्यसको वास्तविक गुण के रहेछ त्यो पत्ता लगाएर अनि त्यसलाई दर्ता प्रक्रियामा अगाडि बढाउने काम हुन्छ।’

नेपालमा अहिले ५ हजार १ सय १३ हेक्टर क्षेत्रफलमा खेतिबाट ३३ हजार ५ सय ८५ मेटि्रकटन जुनार उत्पादन भइरहेको छ । जुनार मध्य पहाडको नौ सय देखि एक हजार चारसय मिटरको उचाइ भएको पाखोबारीमा खेती गरि उत्पादन लिन सकिने उच्च मूल्यको बालीमा पर्छ ।

मध्यपहाडी हावापानी र माटोको कारण निर्वामुखी अन्यबालीनाली भन्दा जुनारको तुलनात्मक लाभ बढी छ । मूल्य श्रृङ्खला अभिबृद्धि गर्न सक्ने यो बालीको जातीय परिक्षण सकेर खेतिका लागि सिफारिस गर्न आवश्यक देखिएको छ । 


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।

Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।